क्रिस्टियानो रोनाल्डोले २०१८ मा रियल म्याड्रिड छाडेर इटालियन महारथी युभेन्टस गए देखि रियलमा करिम बेन्जामा सबैभन्दा निख्रिएका खेलाडीका रूपमा अगाडी आएका छन्। तर बेन्जामाका अनुसार उनले आधुनिक समयको फुटबलिंग ग्रेटसँग खेल्नु एक सौभाग्य थियो।
करिम बेन्जामाले रियाल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग खेल्नु र रोनाल्डो बिनाको अनुभव बताएका छन्। म्याड्रिड स्टारले रोनाल्डोको कारण आफूले क्लबमा आफ्नो खेलशैली परिवर्तन गर्न बाध्य भएको स्वीकार गरेका छन्। रोनाल्डो हरेक वर्ष ५० गोल गर्ने खेलाडी भएकोले उनको उपस्थितिमा आफूले आफ्नो खेलशैली बदल्नु परेको बताए।
सेरी ए च्याम्पियन युभेन्टसका साथ इटालीमा नयाँ चुनौती रोज्नु भन्दा पहिले २००९ र २०१८ बीच रोनाल्डोले स्यान्टियागो बर्नबउमा नौ वर्ष बिताए। बेन्जामाले एल् पाइसलाई रोनाल्डोसँग काम गर्नेबारे भने, “क्रिस्टियानोको बिदाइले मैले अर्कै भूमिका खेल्ने मौका पाए। उनले हरेक वर्ष ५० गोल भन्दा धेरै गर्थे, जसको कारणले मैले पनि उनको खेल अनुसार खेल्नु परेको थियो। उनी संसारकै सबैभन्दा उत्कृष्ट हुन् र म उनको साथमा खुशी थिएँ।”
रोनाल्डो र बेन्जामा एकै सिजन रियल म्याड्रिड आएका थिए। रोनाल्डोले स्पेन छाडेपछि मात्र फ्रेन्च खेलाडीले क्लबका लागि १२९ खेल खेल्दै ७४ गोल गरिसकेका छन्।