काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन्।
पन्तले यही फागुन १५ गते राष्ट्रिय सभाकी सांसद वलीमाथि असभ्य टिप्पणी गरेका थिए। पन्तले ‘वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइल जान पाम् भनेपछि सांसद भएको’ टिप्पणी गरेका थिए। नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा महिलाको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको वलीको भनाइ छ।
वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र ह-त्या गरेको उल्लेख छ । फिरादपत्रमा भनिएको छ, “मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र ह-त्या भएको छ ।”
वलीले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी छिन्। उनले गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना माग गरेकी हुन्। त्यस्तै, त्यसको प्रचार प्रसार समेत गरेको भन्दै त्यसवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी छिन्।
कसूरको गम्भीरता र प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चारमाध्यमबाट भएको बेइज्जती आदि विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट भराई पाऊँ भन्ने मागसमेत फिरादपत्रमा गरिएको छ ।

