काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा रहने हो भने १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णय गराएर उपस्थित हुन आग्रह गरेको छ। सर्वोच्चको आइतबारको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको रूपमा ब्युँतिएका हुन्।
मंगलबार बसेको आयोगको बैठकले यी दुई पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै फेरी एकता गर्ने हो भने पुन: निवेदन दिनका लागि जानकारी दिन भनेको हो।
निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगको मिति २०७५ जेठ २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको २०७७ फागुन २३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुबै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने।’

