आज राति च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ का दुई खेल हुदैछन्। नेपाली समय अनुसार राति १:४५ बाट सुरु हुने खेलमा फ्रेन्च च्याम्पियन पीएसजी र स्पेनिस महारथी बार्सिलोना तथा इंगलिस च्याम्पियन र जर्मन क्लब आरबी लाइपजिंग बीच भिडन्त हुँदैछ।
पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्समा खेलिने खेलमा बार्सिलोना समग्रमा ४-१ ले पछि परेको अवस्थामा मैदानमा उत्रिने छ। पहिलो लेगको खेलमा किलियन एम्बाप्पेको उत्कृष्ट ह्याट्रिकको मद्दतमा पीएसजी बार्सिलोनाकै घरेलु मैदानमा ४-१ ले विजयी भएको थियो।
तुलनात्मक रूपमा बलियो मानिएको पीएसजीसँगको खेल विरुद्ध बार्सिलोनाका प्रमुख डिफेन्डरद्वय जेरार्ड पिके र रोनाल्डो अराउजो चोटका कारण अनुपस्थित रहनेछन्। त्यस्तै, पीएसजीका लागि नेइमार, मोसेज किन जस्ता महत्वपूर्ण खेलाडी उपलब्ध हुने छैनन्। नेइमारले यी दुई टोली बीचको पहिलो लेग पनि गुमाएका थिए।
बार्सिलोनाको लागि अघिल्लो चरणमा प्रवेश गर्नको लागि कम्तिमा पनि ४-० को नतिजाको आवश्यक पर्नेछ वा ४ भन्दा बढी गोल गरेर ३ गोलको अन्तरले खेल जित्न आवश्यक पर्नेछ। पीएसजीको लागि भने चार गोल वा सो भन्दा धेरै गोल अन्तरले हार जोगाए मात्र अर्को चरणमा पुग्न पर्याप्त हुनेछ।
यी दुई टोली बीच पछिल्लो पटक भिडन्तमा बार्सिलोना उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो। २०१७ मा अन्तिम १६ कै खेलमा पहिलो लेगमा ४-० ले पछि परेको अवस्थालाई उल्टाएर दोस्रो लेगमा ६-१ को जित निकाल्दै अर्को चरणमा प्रवेश गरेको थियो।
तर अहिले परिस्थिति निकै फरक छ। पीएसजी त्यो समय भन्दा निकै बलियो छ र बार्सिलोना निकै कमजोर। तर पनि के बार्सिलोनाले फेरी एकपटक त्यहि जादू देखाउन सक्ला त ? त्यो त आज राति नै थाहा हुनेछ।