सरकारलाई दिएको समर्थन फिर्ता गरे मध्यावधि चुनाव हुने माओवादीलाई डर !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ।

सर्वोच्च अदालतको फैसला पश्चात ब्युँतिएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेपनि तत्काल त्यस्तो नगर्ने भएको हो। बुधबार स्थायी समिति बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता तत्काल लिने निर्णय नभएको बताए।

किन भएन समर्थन फिर्ता ?

माओवादी केन्द्रले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अथवा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भन्ने विषयमा कुनै पनि निर्णय गरिसकेको छैन। अन्य दलहरुसँग कुनै पनि ठोस सहमति भैनसकेका कारण माओवादी केन्द्रले कुनै पनि निर्णय नगरेको बुझिएको छ।

माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरिरहेको अवस्था छ। तर, दुवै पार्टीसँगका छलफलबाट कुनै पनि रणनीति बन्न सकिरहेको छैन।

गठबन्धन सरकारको टुंगो नलागेसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने पक्षमा माओवादी केन्द्र रहेको छ।

ओलीलाई दिएको समर्थन फिर्ता लिँदा पछि ओलीले विश्वासको मत पनि नपाउने, नयाँ सरकार बन्न सक्ने अवस्था पनि नरहने र फेरि मध्यावधि चुनावमै जानुपर्ने स्थिति आउन सक्ने हुँदा पनि माओवादी केन्द्रले समर्थन फिर्ता नगरेको केहि विश्लेषकहरु बताउँछन्।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१३:४९

झलनाथ खनालले स्वीकारे गल्ती, एमालेकै सरकार जोगाउने घोषणा !