“असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ”

काठमाडौँ – नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट पारे ।

उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिए । सर्वाेच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भएको थियो ।

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए ।

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले  हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए। जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१५:१४

“हामी पदला लागि ओलीको पछि लागेका होइनौं”