इटालियन महारथी युभेन्टसले पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग जित्ने उदेश्यले २०१८ मा अनुबन्ध गरेको थियो। तर रोनाल्डोलाई अनुबन्ध गरेको ३ वर्ष भइसक्दा पनि इटालियन च्याम्पियन अन्तिम ८ सम्म मात्र पुग्न सफल भएको छ।

रोनाल्डोको पहिलो वर्षमा अन्तिम ८ मा आज्याक्ससँग पराजित भएको युभे गत सिजन र यो सिजन लगातर २ वर्ष अन्तिम १६ बाटै बाहिरियो। गत सिजन फ्रेन्च क्लब लियोनसँग पराजित भएको युभे यो सिजन पोर्टोसँग पराजित भयो।

च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित हुँदै बाहिरिएसँगै इटालीमा रोनाल्डोको भविष्यको बारेमा चर्चा सुरु भएको छ। हालै एक रिपोर्टका अनुसार रोनाल्डो रियल म्याड्रिड फर्किन सक्ने पनि बताइएको छ। स्पेनिस क्लबमा रोनाल्डोको कम्ब्याक सम्भव भएको उक्त रिपोर्टले दाबी गरेको छ।

एल चिरिंग्युटो टिभीको एक सनसनीपूर्ण रिपोर्टका अनुसार रोनाल्डोका एजेन्ट जर्ज मेन्डिज बर्नबेउमा रोनाल्डोको कम्ब्याकको विषयमा कुरा गर्न रियल म्याड्रिडसँग लगातार सम्पर्कमा रहेका छन्।

रोनाल्डोले इटालियन क्लबका लागि १२१ खेल खेल्दै ९२ गोल गरिसकेका छन्। उनले इटालियन च्याम्पियनको साथमा २ सेरी-ए उपाधि जिते पनि क्लबले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन। रोनाल्डोलाई अनुबन्ध गरेपछि युभे च्याम्पियन्स लिगको सेमी-फाइनलमा पनि पुग्न सकेको छैन।

