गत बुधबार पोर्टोसँग हार्दै इटालियन च्याम्पियन च्याम्पियन्स लिग प्रतियोगिताबाट बाहिरियो। सर्जियो ओलिभेराले खेलको निर्णायक गोल गर्दै पोर्टोलाई अर्को चरणमा पुर्याउन प्रमुख भूमिका खेले। सर्जियोले फ्री-किक मार्फत गरेको गोल, जसमा धेरैले रोनाल्डोको गल्ती देखाए, नै युभेलाई बाहिरिनको लागि पर्याप्त भयो।

युभेन्टसका पूर्व प्रशिक्षक र पूर्व अध्यक्ष क्रमश: फाबियो क्यापेलो र जियोभान्नी गिग्लीके उक्त खेलपछि रोनाल्डोको चर्को आलोचना गरे। तर रोनाल्डोका पोर्चुगिज टिममेट तथा म्यानचेस्टर युनाइटेड स्टार ब्रुनो फर्नान्डेजले भने रोनाल्डोको पक्षमा बोल्दै रोनाल्डो एक्लैले जिताउन नसक्ने बताएका छन्।

ला गाजेटा डेल्लो सपोर्टसँग बोल्दै फर्नान्डेजले भने,”क्रिस्टियानो फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीमा पर्छन्। उनको मनासिकताले हर कोहि मानिसलाई प्रभावित गर्छ। उनले आफ्नो करियरमा सब थोक जितेका छन् तर उनी एक्लैले मात्र त जित्न सक्दैनन् नि। मलाई थाहा छ कि उनी भएको टिमले च्याम्पियन्स लिग जित्छ भन्ने आशा हुन्छ, तर एक टिम हार्दा सबै खेलाडी हार्छन् एक खेलाडी मात्र हार्दैन।”

उनले पोर्टोले युभेलाई हराएकोमा आफू अचम्मित नभएको पनि खुलासा गरेका छन्। “म पोर्टो र युभेन्टस बीचको नतिजाले अचम्मित छैन। उनीहरू आक्रामक फुटबल खेल्छन् र मैले उनीहरूले युभेका लागि समस्याहरू सिर्जना गर्ने आशा गरेको थिएँ,” म्यानचेस्टर स्टारले भने।

रोनाल्डो युभेन्टसमा आलोचित हुँदै गर्दा ब्रुनो भाने म्यानचेस्टर क्लबमा प्रमुख खेलाडीको रूपमा स्थापित हुँदै छन्। उनले यो सिजन प्रिमियर लिगमा १६ गोल गर्नुका साथै १० असिस्ट पनि प्रदान गरेका छन्।

