फिनिसिङमा चुक्दा रोकियो एट्लेटिको, रियल र बार्सिलोनालाई फाइदा !

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड १० खेलाडीामा समेटिएको गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

गेटाफेको मैदानमा शनिबार राति भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा एट्लेटिको जितबाट बञ्चित बन्यो ।खेलको आठौं मिनेटमा एन्जल कोरेएको पासमा यान्निक कारास्कोको प्रहार डिफेन्डरले क्लियर गरे । ३९औं मिनेटमा कारास्कोकै प्रहारलाई गेटाफेका गोलरक्षक सोरियाले बचाउदा एट्लेटिको अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गएिको पहिलो मिनेटमा माक्सिमोभिकले गोलरक्षक जान ओब्लाक पोजेसनमा नरहेको बेला खाली पोस्टमा गोल गर्न नसक्दा गेटाफे अग्रता लिनबाट चुक्यो । ४८औं मिनेटमा एट्लेटिकोले अर्काे अवसर खेर फाल्यो । ५७औं मिनेटमा मार्काेस लोरेन्टेको प्रहारलाई गोलरक्षक सोरियाले बचाए ।

५९औं मिनेटमा कुकुरेल्लाको पासमा कसैको निगरानीमा नरहेका एलिनाको प्रहारलाई हर्माेसोले क्लियर गर्दै एट्लेटिकोको संकट टारे । लगत्तै कुकुरेल्लाको अर्काे प्रहारलाई गोलरक्षक जान ओब्लाकले बचाए ।

७०औं मिनेटमा घरेलु टोली गेटाफे १० खेलाडीमा समेटियो । रेनान लोडीमाथि फल गरेपछि एलान न्योम सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपनि त्यसको फाइदा एट्लेटिकोले उठाउन सकेन । ८२औं मिनेटमा लुइस सुआरेजको प्रहार पोस्टमा लागेर बाहिरियो । ९०औं मिनेटमा रेनान लोडीले गोल गर्न सकेनन् ।

यो बराबरीको प्रत्यक्ष फाइदा रियल म्याड्रिड र बार्सिलोनालाई पुगेको छ । बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको २७ खेलबाट ६३ अंक पुगेको छ । उसले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ६ अंकले तथा बार्सिलोनालाई ७ अंकले पछि पारेको छ । गेटाफे २८ अंक जोडेर १५औं स्थानमा छ ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१०:०३

आलोचना नै आलोचना भएपछि रोनाल्डोको भावुक सन्देश ! यसो भने …