आइतबार राति भएको खेलमा युभेन्टसले क्याग्लियारीलाई उसको घरेलु मैदानमा ३-१ ले पराजित गरेको छ। युभेन्टसका लागि तीनै गोल क्रिस्टियानो रोनाल्डोले गरेका छन्।

रोनाल्डोले खेलको १० औं, २५ औं र ३२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै आफ्नो करियरको ५७ औं ह्याट्रिक पूरा गर्दा युभेले क्याग्लियारीलाई सजिलै पराजित गर्न सफल भयो। क्याग्लियारीका जियोभानी सिमियोनीले ६१ औं मिनेटमा गोल गरेका थिए।

यस्तोमा रोनाल्डोले आफ्नो आलोचकलाई कडा झाप्पड हान्न सफल भएका छन्। पोर्टो विरुद्ध दुई लेगमा एक गोल पनि गर्न नसकेका रोनाल्डोको निकै आलोचना हुँदै आएको थियो। सर्जियो ओलिभेरोले फ्रिकिक गोल गर्दा उनको भूमिकालाई लिएर अझ बढी आलोचना गरियो।

कसैले रोनाल्डोले युभेन्टसलाई धोका दिएको भन्दै गर्दा क्लबका पूर्व अध्यक्षले त रोनाल्डोलाई अनुबन्ध गरेर युभेन्टसले ठूलो गल्ती गरेको र उनलाई क्लबबाट बेच्नु पर्ने सुझाव समेत दिएका थिए। आइतबारको खेलअघि आफ्नो आलोचना गर्नेहरुलाई र आफ्नो प्रदर्शनबाट निराश भएका प्रशंसकहरुलाई रोनाल्डोले सन्देश दिएका थिए।

रोनाल्डोले सामाजिक संजाल इन्स्ताग्राम मार्फत सन्देश जारी गर्दै कति पटक असफल भैयो भन्दा पनि कति छिटो असफलताबाट माथि उठ्न सकियो भन्ने कुरा महत्वपूर्ण हुने बताएका थिए।

