अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे  । नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।

“देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन”, पूर्वउपप्रधानमन्त्री पौडेलले भने, “अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।”

“कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन”

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।

उनले भने, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उनले अहिले निर्वाचन नहुञ्जेको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए ।

उनले भने, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्व तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे ।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१३:०३

अमिताभ बच्चनले गराए दोस्रोपटक आखाको सर्जरी, कस्तो छ स्वास्थ्य?