काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा बसेको औपचारिक बैठक कुनै निस्कर्ष बिना नै सकिएको छ।
दुबै पक्ष आ-आफ्ना अडानबाट पछि नहट्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिएका छन्। उनले भने,”आज केहि कुरा मिलेन। फेरी छलफल गर्ने कुरा छ। अर्को छलफल कहिले हुन्छ भन्ने कुरा निश्चित छैन तर हुन्छ।” माधवकुमार नेपाल समूहबाट बैठकमा उपस्थित रावलले पत्रकारहरुसँगको कुराकानीमा भने, “ओली पक्षले फागुन २८ गरेको निर्णय कारेज गर्नुपर्छ, अनि मात्र हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी रहनेछ।”
नेता माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओली पक्षलाई आफूले फागुन २८ गतेको गरेको निर्णय फिर्ता लिन आग्रह गर्दा उक्त निर्णय फिर्ता गर्न ओली समूह तयार नभएपछि अर्को वार्ता गर्ने सहमतीका साथ आजको वार्ता सकिएको रवालले बताए। “त्यो निर्णय पार्टी विधान र सर्वोच्चको फैसला अनुकुल पनि थिएन,” उनले भने।
बैठकमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए भने माधव नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भएका थिए।

