एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डका अर्लिङ ब्राउट हालाण्डलाई किन्ने वातावरण बनाउन बार्सिलोना जुटेको खबरहरु आएका छन्।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार हालाण्ड किन्नको लागि बार्सिलोनाले वातावरण बनाउँदै छ। हालाण्ड किन्न कसरी अर्थ व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा बार्सिलोना भित्र छलफल चलिरहेको छ।

सन् २०२० को शुरुवातमा र्मन क्लब बोरुसिया डर्टमण्ड आएयता लगातार छाइरहेका हालाण्ड माथि युरोपका सबै ठूला क्लबको नजर छ। हालाण्डलाई अनुबन्धन गर्ने योजना धेरै क्लबको छ। जस कारण हालाण्डको ट्रान्सफरमा तिब्र प्रतिष्पर्धा हुने निश्चित छ। यहि कारणले बार्सिलोना अहिले देखि नै तयारीमा जुटेको बताइन्छ।

पछिल्लो एक खबरका अनुसार हालाण्डलाई भित्र्याउने लगानी बटुल्नको लागि बार्सिलोनाले आफ्ना केहि खेलाडीहरु बेच्ने योजना बनाएको छ। बार्सिलोनाले बेच्न लागेका खेलाडीहरुमा फिलिपे कौटिन्हो र एन्टोइन ग्रिज्म्यान समेत रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुको दावी छ। उक्त सूचीमा मार्टिन ब्रेथवेट, जूनियर फिर्पो र स्यामुअल उमिटी पनि छन्।

बिक्रीको सूचीमा राख्न लागिएका खेलाडीहरु मध्ये कौटिन्हो र ग्रिज्म्यान महँगोमा बिक्ने र त्यसले हालाण्ड भित्र्याउन आर्थिक सहजता प्रदान गर्ने अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्। त्यस्तै बार्सिलोनाले ओस्मान डेमबेले पनि बेच्न सक्ने सम्भावना छ।

बार्सिलोनाले हालाण्डलाई मात्र नभई अन्य खेलाडीहरुलाई पनि प्राथमिकतामा राखेको छ। हालाण्ड किन्न नसकेको अवस्थामा बार्सिलोनाले सर्जियो अगुएरो र मेम्फिस डेपेलाई पनि किन्न सक्ने बताइन्छ। बार्सिलोनाले एरिक गार्सिया, डेभिड अलाबा र जर्जिनियो विज्नल्डम माथि पनि नजर राखेको छ।

