बार्सिलोनाका मिडफिल्डर पेड्री क्लबका कप्तानको भविष्यको बारेमा चर्चा चलिरहँदा उनी अझै धेरै वर्ष आफ्नो टिममेट हुने आशा राख्छन्। मेस्सी र बार्सिलोना बीचको सम्झौता जारी सिजनको अन्त्यमा सकिँदै छ र उनले क्लबसँग नयाँ सम्झौता हस्तक्षर गर्ने बारे अहिलेसम्म केहि पक्का खबर छैन।

तर क्लबको अध्यक्षमा जोआन लापोर्टा विजयी भएसँगै मेस्सी बार्सिलोनामै बस्ने सम्भावना बढेको धेरैको बुझाई रहेको छ। यस्तोमा, बार्साका राइजिंग स्टारहरु मध्ये एक पेड्री ६ पटकका ब्यालुन डी ओर विजेतासँग सकेसम्म लामो समयसम्म एकसाथ खेल्न उत्सुक छन्।

पहिलो पटक मेस्सीसँग ट्रेनिंग सेसनमा भेट हुँदा आफूले आफ्नै आँखा माथि विश्वास नगरेको पेड्रीले स्वीकार गरे। लास पाल्मसबाट बार्सिलोना आएका उनले एल् क्लब डेल डिपोर्टिस्टालाई भने,”पहिलो दिन मैले मेस्सीलाई देख्दा लाग्यो कि यो झुट हो। जब म मेस्सीको छेउमा थिएँ, उनलाई भेट्दा म धेरै छक्क परें। यो सबै टेलिभिजन वा भिडियो खेलमा भएको जस्तो थियो, म त्यो पललाई विश्वास नै गर्न सकिन।”

उनले मेस्सीसँग खेल्नको लागि निकै सजिलो हुने समेत खुलासा गरेका छन्। उनले भने,”मेस्सीसँग खेल्न निकै सजिलो हुन्छ किनकि तपाईंलाई थाहा हुन्छ कि तपाईंले उनलाई बल दिनुभयो भने केहि राम्रो नै हुन्छ। म सधैं त्यहि नै गर्न प्रयास गर्छु, उनलाई सबैभन्दा बेस्ट पोजिसनमा बल दिन खोज्छु जसले टिमलाई फाइदा होस्।”

क्लबमा मेस्सीको भविष्यको बारेमा अनिश्चितता रहिरहँदा उनले यसबारे बोल्दै भने,”म आशा गर्छु कि म उनीसँग अझ धेरै वर्षसम्म नजिक हुन सक्छु भन्ने। मैले उनीसँग अझ धेरै समय खेल्न सके र सिक्न सके भने त्यो मेरो लागि अत्यन्त राम्रो हुनेछ।”

मेस्सी र पेड्रीको रूपमा बार्सिलोनाको टिममा यो सिजन एक घातक कम्बो तयार भएको छ। १८ वर्षकै उमेरमा बार्सिलोनाको पहिलो रोजाईको टोलीको प्रमुख खेलाडी बन्न सफल उनले यो सिजन क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

