“मेस्सी र नेयमार सँगै हुन्छन्, तर पीएसजीमा होइन बार्सिलोनामा”

एजेन्सी – नेयमारका पूर्व एजेन्ट आन्द्रे कुरीले नेयमार बार्सिलोना नै फर्किने दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कुरीले नेयमार बार्सिलोनामै फर्किने दावी गरेका हुन्।

कुरीले बार्सिलोनामै नेयमार र मेस्सी बीच भेट हुने र क्लबका लागि दुवैले खेल्ने दावी मात्र गरेनन्, बार्सिलोनाका कप्तान लियोनेल मेस्सी क्लब छाडेर पेरिस सेन्ट जर्मेन(पीएसजी) जाने चर्चालाई खारेज पनि गरे।

बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले मेस्सी र नेयमारको पुनर्मिलनमा भूमिका खेल्ने विश्वास कुरीको छ। क्लबको निर्णायक भूमिकाका लापोर्टा रहेका कारण धेरै राम्रा कामहरुको आशा गर्न सकिने उनले बताए। मेस्सीले अब कुनै पनि हालतमा बार्सिलोना नछाड्ने दावी पनि कुरीले गरे।

“मेस्सीले बार्सिलोना छाड्ने छैनन्। म यो भन्न सक्छु कि मेस्सीले बार्सिलोनामै रहने निर्णय गरिसकेका छन्।”,उनले भने,”नेयमार र मेस्सी एक साथ खेल्नेछन्, तर बार्सिलोनामा।”

नेयमार बार्सिलोनामै फिर्ता हुने र मेस्सीसँग पुनर्मिलन हुनेमा उनी ढुक्क छन्। दुई वर्ष अगाडी नेयमारले आफूलाई बार्सिलोना फर्काइदिन आग्रह गरेको खुलासा पनि कुरीले गरे।

उनले भने,”दुई वर्ष अगाडी नेयमारले औपचारिक रूपमा मलाई बार्सिलोना फिर्ता हुने वातावरण बनाइदिन आग्रह नै गरेका थिए। तर, त्यति बेला सम्भव हुन सकेन। त्यस समयमा हामीले उनलाई बार्सिलोना फिर्ता गराइसकेका थियौं। तर, अन्तिम समयमा आएका समस्याले सबै कुरा भाँडिए।”

त्यस्तै बार्सिलोना छाडेर गलत गरेको कुरा नेयमार आफैंले स्वीकार गरिसकेको पनि कुरीले बताए। आफ्नो गल्ती स्वीकार गरिसकेका कारण बार्सिलोनाका समर्थकले नेयमारलाई खुला दिलले स्वागत गर्ने कुरीको भनाई छ।

प्रकाशित : शनिबार, चैत ०७, २०७७१७:२९

म्यानचेस्टर सिटीले एभर्टनलाई उसकै मैदानमा हरायो, सिटी एफए कपको सेमिफाइनलमा !