एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी एभर्टनलाई हराउदै लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको अन्तिम ६ मिनेटमा दुई गोल गर्दै सिटीले एभर्टनलाई उसकै मैदानमा २–० को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा सिटीको जितमा इल्केए गुन्डोगान र केभिन डि ब्रुयनले गोल गरे ।
घरेलु टोली एभर्टनलाई दवावमा राखेपनि सिटीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । तर अन्तिम ६ मिनेटमा दुई गोल गर्दै सिटीको जित निकाल्न सफल भयो । ८४औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ९०औं मिनेटमा रोड्रीको पासमा कप्तान केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई २–० को जितसहित अन्तिम चारमा पुर्याए ।
अर्काे क्वाटरफाइनलमा साउथह्याम्टनले बर्नमाउथमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । बर्नमाउथको मैदानमा साउथह्याम्टनको जितमा नाथन रेडमन्डले दुई तथा मोउसा डिजेनेपोले एक गोल गरे ।