एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल र एक असिस्टमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ ।
सब्सिच्युट मार्काे एसेन्सियोले अर्काे गोल गर्दा घरेलु टोली सेल्टाका सान्टि मिनाले एक गोल फर्काए । एवान्का बलाइडोसमा शनिबार राति भएको खेलमा रियलले खेलको २०औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए ।
३०औं मिनेटमा बेन्जेमाले टोनी क्रुसकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ४०औं मिनेटमा सेल्टाका सान्टी मिनाले डेनिस सुआरेजको पासमा गोल गरेपछि पहिलो हाफमा २–१ को अवस्थामा पुगेको थियो । खेलमा पछि परेको सेल्टाले दोस्रो हाफमा रियललाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सब्सिच्युट एसेन्सियोले करिम बेन्जेमाको पासमा गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए । बेन्जेमाले आफैले गोल गर्न सक्ने अवस्था रहेपनि एसेन्सियोलाई पास दिएका थिए । एसेन्सियो ७१औं मिनेटमा टोनी क्रुसको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।
जितपछि दोस्रो स्थानमा उक्लिएको रियलको २८ खेलबाट ६० अंक पुगेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको २७ खेलबाट ६३ तथा तेस्रो स्थानका रहेको बार्सिलोनाको ५९ अंक छ । पराजित सेल्टा ३४ अंक जोडेर ११औं स्थानमा छ ।