मुग्लिन – मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।
नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
उनका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ । लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् ।
कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो ।केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् ।
सबस्टेशनको क्षमता बढाइयो
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । शनिबार र आइतबार विद्युत कटौती गरेरै क्षमता वृद्धि गरिएको हो । भरतपुर वितरण केन्द्रका इञ्जिनीयर विनोद सापकोटाले इनकमर र बक्स कपुलर परिवर्तन गरी क्षमता बढाइएको जानकारी दिए।
उनले ८०० एम्पियर क्षमतालाई बढाएर एक हजार ५०० बनाइएको बताए। उनका अनुसार सबस्टेशनमा सर्वसाधारणका लागि नौवटा र कोकाकोला कम्पनीका लागि एउटा छुट्टै गरी जम्मा १० फिडर रहेका छन् । उक्त फिडरका लागि दुईवटा इनकमर छन् ।
एउटा इनकमरमा ओभरलोड भएर ट्रिप हुनेबित्तिकै पाँचवटा फिडरको विद्युत् काटिन्थ्यो । आधा जिल्लाभर विद्युत् कटौती हुने गर्दथ्यो । उनका अनुसार अहिले नै इनकमर फूल लोडमा थियो । “अहिले नै ८०० एम्पियरको रेन्जमा करेन्ट पुगिसकेको अवस्था छ । त्यसैले गर्मीयाममा ९०० एम्पियरसम्म करेन्ट पुग्ने अवस्था थियो । यो क्षमताले कुनै पनि हालतमा थेग्न सक्ने अवस्था थिएन”, उनले भने, “त्यसैले हामीले क्षमतालाई बढाएका हौँ ।” आठ सय एम्पियरबाट एक हजार ५०० एम्पियर गणितीय नियमका आधारमा बढाइएको उनले बताए।
अब क्षमता बढाएपछि गर्मीयाममा ओभरलोड भएर विद्युत् कटौती हुने समस्या नआउने सापकोटाको भनाइ छ । भरतपुर सबस्टेशन चितवनको मुख्य र ठूलो सबस्टेशन हो । यहाँ ट्रान्समिसनको लाइनलाई ल्याएर कम भोल्टेज बनाई अन्य सहायक सबस्टेशनमा पठाइन्छ । माडी, चनौली र टाँडीमा सहायक सबस्टेशन रहेका छन् ।