बार्सिलोनामा आउने चर्चा चलिरहँदा म्यानचेस्टर सिटीका डिफेन्डर एरिक गार्सियाले क्याटालान क्लबका कप्तान लियोनल मेस्सीसँग खेल्न पाउनु अत्यन्त खास हुने भन्दै अर्जेन्टिनीको तारिफ गरेका छन्।
सिजनको अन्त्यमा सिटीसँगको सम्झौता सकिने गार्सियाले नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने क्लबका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले बताइसकेका छन् र उनी बार्सिलोनासँग अनुबन्ध हुने पनि लगभग पक्का जस्तै देखिन्छ। गोलको एक रिपोर्टका अनुसार गार्सिया बार्सिलोनासँग अनुबन्ध हुनको लागि क्लबसँग सहामति जनाइसकेका छन्।
२०२२ विश्वकप छनौटका लागि स्पेनको पहिले खेल अघिको पत्रकार सम्मेलनमा गार्सियाले भने,”सबैलाई थाहा छ कि मेस्सी विश्वकै सर्वश्रेष्ठ खेलाडी हुन्, उनीसँग खेल्न पाउनु सबैको लागि विशेष हुन्छ, उनले हरेक हप्ता जे गर्छन् त्यो अविश्वसनीय छ।”
उनलाई बार्सिलोनाका नवनियुक्त अध्यक्ष लापोर्टासँग आफ्नो केहि कुरा भएको बारेमा प्रश्न गर्दा उनले भने,”छैन, न लापोर्टा न अरु कोहि, कसैले मलाई सम्पर्क गरेका छैनन्। मैले सिटीसँग नयाँ सम्झौता हस्ताक्षर नगर्ने निर्णय गरिसकेको छु, भविष्यमा के हुन्छ मैले सोचेको छैन तर अहिले म वर्तमानमा केन्द्रित हुन चाहन्छु।”