एजेन्सी – बार्सिलोनाका कप्तान लियोनेल मेस्सी पेसिस सेन्ट जर्मेन(पीएसजी) जाने सम्भावना टर्दै गएको चर्चा हुन थालेको छ। मेस्सी र बार्सिलोनाको पछिल्लो लयका कारण मेस्सी पिएसजी जाने सम्भावना टर्दै गएको चर्चा शुरु भएको हो।
एक अन्तराष्ट्रिय संचार माध्यमका अनुसार मेस्सी तत्काल पीएसजी नआउने कुरामा पीएसजीका अधिकारीहरु पनि प्रष्ट हुँदै गएका छन्। मेस्सीलाई आउने ट्रान्सफर विन्डोमै पीएसजी लैजान भएका सम्पूर्ण प्रयास निर्रर्थक भएको पीएसजी भित्रकै अधिकारीहरुको विश्लेषण छ।
मेस्सीको उत्कृष्ट लय
सिजनको शुरुवातमा क्लबसँग रुष्ट रहेका मेस्सी पछिल्लो समय खुशी मात्र देखिएका छैनन्, उनी उत्कृष्ट लयमा पनि छन्। च्याम्पियन्स लिगबाट बाहिरिएपनि उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले लालिगा जित्ने सम्भावना पुनर्जीवित भएको छ। त्यति मात्र नभई बार्सिलोनाले कोपा डेल रे जित्ने सम्भावना पनि छ।
त्यति मात्र नभई पछिल्लो समय क्लबका प्रशिक्षक रोनाल्ड कोम्यानसँगको सम्बन्धमा पनि सुधार भइसकेको छ भने उनले चाहेकै व्यक्ति अहिले क्लबको अध्यक्ष पदमा छन्। नवनियुक्त अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई बार्सिलोनामा अड्याउन सकेको सबै गर्ने बताइसकेका छन्।
पीएसजीलाई एम्बाप्पेको चिन्ता
मेस्सी आफूहरुको पकड भन्दा बाहिर रहेको र उनी पीएसजी आउने सम्भावना नरहेको देखिएपछि पीएसजी किलियन एम्बाप्पे र नेयमारलाई क्लबमै अड्याउने रणनीति सहित अगाडी बढेको छ। नेयमारले क्लब छाड्दैनन् भन्नेमा पीएसजी ढुक्क छ। तर, एम्बाप्पेको विषयमा पनि पीएसजी प्रष्ट हुन सकिरहेको छैन।
पीएसजीलाई यति बेला एम्बाप्पे क्लब छाड्ने मनस्थितिमा छन् भन्ने डर छ। एम्बाप्पेले पिएसजीमै रहने कि अन्यत्र जाने भन्ने निर्णय गरिसकेका छैनन्।