एजेन्सी – युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो स्पेनिस महारथी रियल म्याड्रिडमा फिर्ता हुने सम्भावना तत्कालका लागि असम्भव जस्तै देखिएको छ। पछिल्लो समय रोनाल्डो रियल फर्किने चर्चा चलेपनि रियलले रोनाल्डोलाई फिर्ता ल्याउने कुनै पनि योजना बनाएको छैन।
स्पेनिस एक पत्रिकाका अनुसार रियलले रोनाल्डोलाई फिर्ता ल्याउन चाहेको छैन। त्यसका पछाडी रोनाल्डोको बढ्दो उमेर र आर्थिक पक्ष रहेको बताइएको छ।
केहि समय अगाडी रोनाल्डो रियल फिर्ता हुन चाहेको खबरहरु आएका थिए। त्यसक्रममा रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डो फिर्ता होलान् भन्ने कुरालाई नकार्न नसकिने बताएका थिए। जसपश्चात रोनाल्डो रियल आउने चर्चाले व्यापकता पाएको थियो। तर, स्पेनिस मिडियाहरुका अनुसार रियलका उच्च अधिकारीहरु रोनाल्डो फिर्ता ल्याउने पक्षमा छैनन्।
गत ट्रान्सफर विन्डोमा खासै खर्च नगरेको रियलले आउने ट्रान्सफर विन्डोमा जर्मन क्लब बोरुसिया डर्टमण्डका अर्लिङ ब्राउट हालाण्ड, पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पे जस्ता खेलाडी भित्र्याउन प्रयास गर्ने स्पेनिस मिडियाहरु बताउँछन्।
दुवै खेलाडी माथि युरोपका ठूला क्लबको नजर रहेको कुरालाई मध्यनजर गर्दै रियल आर्थिक जोहो गर्न लागिपरेको बताइन्छ। हालाण्ड र एम्बाप्पे मध्ये कुनै एक खेलाडी अथवा दुवै खेलाडी भित्र्याउन रियलले क्लबका केहि खेलाडीहरु बेच्न पनि सक्छ। पछिल्लो खबरका अनुसार रियलले ६ खेलाडीलाई बिक्रि गर्ने योजना बनाएको छ।