सवारी लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए पुग्ने नियम जेठ १ देखि लागू हुने

दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याएमा परीक्षा पास हुने व्यवस्था आउँदो जेठ १ गतेबाट लागू हुने भएको छ। हालको नियम अनुसार प्रयोगात्मक परीक्षामा कुनै गल्ती भए मात्र पनि फेल हुने व्यवस्था रहेको छ अर्थात् सत प्रतिशत अंक नै ल्याउनुपर्ने व्यवस्था छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो। मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोके लगत्तै ट्रायलमा कम्तीमा ७० अंक ल्याए पास भइनेछ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थाको लागि सहमति दिइसकेको छ। उनले भने,”कार्यविधि निर्देशिका जेठ १ गतेबाट देशभर लागू हुनेछ।” त्यस्तै, नयाँ निर्देशिका अनुसार बाइक, स्कुटर, मोपेडका सवारीसाधनको ट्रायल लिखित परीक्षामा पनि केही फेरबदल भएको बताइएको छ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्षसम्बन्धी व्यावहारिक ज्ञानका विषयका ५–५ अंकका कुल २० वटा प्रश्न सोधिने गरी व्यवस्था गरिएको छ। समयअवधि ३० मिनेट रहने लिखित परीक्षामा न्यूनतम ८० अंक प्राप्त गर्ने परीक्षार्थी मात्र पास हुनेछ।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१७:४९

अब आफ्नै बाइक वा स्कुटरले ट्रायल दिन मिल्ने !