लक्जेमवर्गमाथि पोर्चुगलको जित, रोनाल्डोले गोलसंख्या १०३ पुर्‍याए !

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँगै डिएगो जोटा र जोआओ पालहिन्हाले गोल गरेपछि कतार विश्वकप २०२२ को छनोट खेलमा पोर्चुगलले लक्जेमवर्गमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको छ ।

घरेलु टोलीका जर्सन रोड्रिगेसको गोल सान्त्वना बन्यो । लक्जेमवर्गमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा जर्सन रोड्रिगेसको गोलबाट अग्रता लिएको थियो । उनले ड्यानियल सिनानीको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले पेड्रो नेटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले जोओ क्यान्सिलोको पासमा गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । लक्जेमवर्गविरुद्ध गोल गरेसँगै रोनाल्डोले १७३ क्यापमा आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या १०३ पुर्‍याए । सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेमा दोस्रो स्थानमा रहेका रोनाल्डो इरानका अली दाई (१०९) भन्दा ६ गोलले पछि छन् ।

८०औं मिनेटमा पेड्रो नेटोको पासमा जोआओ पलहिन्हाले गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगलको जित पक्का भयो । ८७औं मिनेटमा म्याक्सीमी चानट दोहोरो पहेँलो कार्ड खाँदै मैदानमा बाहिरिएपछि लक्जेमवर्ग १० खेलाडीमा समेटिएको थियो ।

यस्तै यही समूह ‘ए’ को खेलमा सर्वियाले अजरवैजानलाई २–१ ले पराजित गरेको छ । सर्वियाको जितमा एलेक्सान्डर मित्रोभिकले दुवै गोल गरे । घरेलु टोली अजरवैजानका इमिन माखमुदोभले एक गोल फर्काए ।

यो नतिजासँगै समान ७ अंक भएपनि पोर्चुगल गोलअन्तरमा शीर्षस्थानमा उक्लदा सर्विया दोस्रो स्थानमा झरेको छ । पोर्चुगलसँग पराजित लक्जेमवर्ग ३ अंक जोडेर तेस्रो स्थानमा छ । अंकविहीन आयरल्यान्ड र अजरवैजान चौथो र पाँचौ स्थानमा छन् ।

प्रकाशित : बुधबार, चैत १८, २०७७१०:१८

मेस्सी, रोनाल्डो लगायत तपाईंको मनपर्ने फुटबलर १९७० को दशकमा भएका भए कस्ता देखिन्थे त ? हेर्नुहोस् !