बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबसँग नयाँ सम्झौता हस्तक्षर गर्ने बारे सोच्ने भएका छन्। गत सिजन बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सी अब भने बार्सिलोनामै खुसी रहेको बुझिएको छ। तर ३३ वर्षीय अर्जेन्टिनीले क्लबका नवनियुक्त अध्यक्ष जोआन लापोर्टासँग केखी महत्वपूर माग राखेका छन्।

युरोस्पोर्टको एक रिपोर्टका अनुसार ६ पटकका ब्यालुन डी ओर विजेताले क्लबसँग आफूले नयाँ सम्झौतामा हस्ताक्षर गर्नुअघि केहि माग राखेका छन्। मेस्सीको बार्सिलोनासँगको वर्तमान सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ।

गत सिजन बार्सिलोना छाड्ने निर्णय गरिसकेका मेस्सी लापोर्टाको आगमन र प्रशिक्षक कोमनको कामको कारण भने बार्सिलोनामै बस्ने सम्भावना बढेको बताइन्छ। कुनै पनि क्लबसँग अनुबन्ध हुन खुला भइसकेका मेस्सीले सिजनको अन्त्यमा मात्र आफ्नो भविष्यको बारेमा फैसला गर्ने बताएका छन्।

मेस्सीको सूचीमा क्लबले राम्रो खेलाडी भित्र्याउनु पर्ने माग राखेका छन्। क्लबको आर्थिक स्थितिलाई ध्यानमा राख्दै उनले क्लबलाई धेरै समस्या नहुने गरी यसको माग राखेको बुझिएता पनि उनले आउँदो समरमा कम्तीमा एक मार्की अनुबन्धको आशा राखेका छन्। उक्त मार्की अनुबन्ध हालान्ड हुनसक्ने सम्भावना प्रवल रहेको छ।

रिपोर्टका अनुसार मेस्सीको दोस्रो माग भनेको क्लबका युवा खेलाडीमा विश्वास गर्नु पर्नेछ। अन्सु फाती, पेड्री, इलाइक्स मोरिबा जस्ता खेलाडीसँग राम्रो तालमेल देखाएका मेस्सीले उनीहरुको खेल विकास गर्न ठूलो भूमिका खेल्ने देखिन्छ। त्यसैले, मेस्सीले क्लबका युवा खेलाडीको वरिपरी उत्कृष्ट टोली तयार पार्नु पर्ने माग गरेका छन्।

