एजेन्सी – पेरिस सेन्ट जर्मेन(पीएसजी)का किलियन एम्बाप्पेले मन-मनै आफू क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी भन्दा उत्कृष्ट छु भनेर सोच्ने गरेको बताएका छन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले हरेक खेल अगाडी आफू धेरै उत्कृष्ट छु र आफूले उत्कृष्ट छु भनेर देखाउन सक्छु भन्दै आफूलाई प्रेरित गर्ने गरेको बताएका हुन्।
मेस्सी र रोनाल्डोले आफू भन्दा अर्बौं गुणा बढी कार्य गरेको भएपनि आफ्नो दिमाखमा आफू नै उत्कृष्ट छु भन्ने कुरा राखेर मैदानमा उत्रने गरेको एम्बाप्पेले बताए।
“प्रत्येक पटक जब म पिचमा जान्छु म आफैंलाई भन्छु – म सर्वश्रेष्ठ हुँ र अझै म त्यहाँ मेस्सी र क्रिस्टियानो रोनाल्डो भएको मैदानमा खेल्दछु। उहाँहरु म भन्दा धेरै राम्रा खेलाडी हुनुहुन्छ। उहाँहरुले म भन्दा अर्बौं बढी काम गर्नुभएको छ।”,आरएमसी स्पोर्टसँग कुराकानी गर्दै एम्बाप्पेले भने,”तर म सँधै आफूलाई भन्दछु कि म सर्वश्रेष्ठ हुँ। आफैंलाई सीमितता दिनुहुन्न भन्ने मेरो कुरा हो।”
मैदानमा राम्रो प्रदर्शन गर्न प्रेरित गर्नको लागि आफूलाई मेस्सी र रोनाल्डो भन्दा माथि राखेर मैदानमा प्रवेश गर्ने गरेको एम्बाप्पेको भनाई छ। आत्मप्रेरणाको लागि यस्तो सोच्ने गरेको उनले बताए। त्यस्तै एम्बाप्पेले मानिसमा अहंकार हुनुपर्ने पनि बताएका छन्।
उनले भने,”अहंकार र ईर्ष्या ? पक्कै पनि यो महत्त्वपूर्ण छ किनकि जब तपाई कुनै नराम्रो ठाउँमा हुनुहुन्छ, अरु कसैले पनि तपाईलाई धक्का दिदैन। तपाईं आफैंले आफैंलाई विश्वस्त पार्नुपर्ने हुन्छ। त्यसपछि मात्रै सफलताको पहाड चढ्न सकिन्छ।”