गयराती भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिड विरुद्ध १-० को संघर्षपूर्ण जीत निकाल्न सफल भयो। यससँगै, क्याटान क्लब लिगको दोस्रो स्थानमा उक्लेको छ। यसका साथै बार्साले लिग लिडर एथलेटिको म्याड्रिडसँगको अंक दूरी एकमा झारेको छ भने रियल म्याड्रिड भन्दा २ अंकले अगाडी रहेको छ।
आइतबार एथलेटिको म्याड्रिड सेभिल्लासँग पराजित भएसँगै बार्सिलोना र रियल म्याड्रिडलाई उपाधि यात्रामा फाइदा भएको हो। अहिले लालिगाको उपाधि होड युरोपका टप ५ लिग मध्ये सबैभन्दा रोमन्चक भएको छ। तर सिजनको आधा खेल अर्थात म्याच डे १९ सम्म भने सिन निकै फरक थियो।
सिजनको १९ खेल सकिँदा लिग लिडर एथलेटिको म्याड्रिडको कुल ५० अंक थियो। जसपश्चात् का १० खेलमा मात्र १६ अंक बटुल्न सफल एथलेटिकोको हाल ६६ अंक रहेको छ। त्यस्तै, रियल म्याड्रिडको १९ खेलबाट ४० अंक रहेको थियो। त्यसपछि १० खेलमा २३ अंक बटुलेको रियलको हाल ६३ अंक रहेको छ र टेबलको तेस्री स्थानमा रहेको थियो। पछिल्लो समय उत्कृष्ट लयमा रहेको बार्सिलोनाले सिजनको सुरुवात भने निकै खराब गरेको थियो। १९ खेलबाट मात्र ३७ अंक बटुलेको बार्सिलोनाले पछिल्ला १० खेलमा भने सम्भावित ३० अंकबाट २८ अंक बटुल्न सफल भएको बार्सिलोनाको हाल ६५ अंक रहेको छ।
यस्तोमा, १९ खेलसम्म हेर्ने हो भने एकतर्फी देखिएको लालिगा उपाधि होड अहिले भने निकै खुल्ला देखिएको छ। दुई महिना अघिसम्म एथलेटिको म्याड्रिडको पोल्टामा देखिने उपाधिका लागि अब बार्सिलोना र रियल म्याड्रिडलाई प्रवल दाबेदार मानिन थलिएको छ। लिगका कुल ९ खेल बाँकी रहँदा कुन टोलीले उपाधि जित्ने भन्ने बारे कुनै ठोस निर्णय दिन नसकिने अवस्था छ।