“मेस्सी बार्सिलोना मै बस्ने पक्का छ”

पूर्व बार्सिलोना स्काउट आन्द्रे करी क्लब कप्तान लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता हस्ताक्षर गर्नेमा विश्वस्त रहेका छन्। मेस्सीको क्लबसँगको सम्झौता यहि जुन ३० बाट सकिनेछ। क्लबको आर्थिक संकटको बाबजुद पनि मेस्सीले बार्सासँग नयाँ सम्झौता हस्ताक्षर गर्ने सम्भावना बढेको करीको बुझाई छ।

रेडियो कन्टिनेन्टलसँग बोल्दै करीले भने,”म लगभग निश्चित छु कि लियो बार्सिलोनामै बस्नेछन्। बार्सामै मेस्सी फेरी खुसी हुनेछन् र बार्सिलोनाले फेरी उत्कृष्ट खेल्न सुरु गर्नेछ। मेस्सी एकपटक फेरी एक नम्बर हुनेछन्।”

उनले मेस्सीका लागि अर्जेन्टिना र बार्सिलोना दुबै आफ्नै घर रहेको पनि बताएका छन्। “लियोको घर बार्सिलोना र अर्जेन्टिना हो। मेस्सीले अर्जेन्टिनालाई निकै माया गर्छन्: उनले आफ्नो राष्ट्रको लागि आफ्नो शत प्रतिशत दिएर खेल्छन् र बार्सिलोनाका लागि पनि,” करीले भने।

मेस्सीलाई बार्सिलोनामा अरु केहि नभएर प्रतिस्पर्धात्मक टोली चाहिएको पनि उनको भनाइ छ। र क्लबको नयाँ बोर्डले मेस्सीको उक्त माग पूरा गर्नेमा पनि उनी विश्वस्त रहेका छन्। मेस्सीको क्लबको अध्यक्ष लापोर्टासँग राम्रो रहेको भन्दै करीले भने,”मलाई बार्सिलोनामा मेस्सीको इतिहास थाहा छ। उनको लापोर्टासँग धेरै राम्रो सम्बन्ध थियो र अब उनी फर्किएका छन्। अहिले क्लबमा थुप्रै सकारात्मक चीज भइ रहेका छन्।”

सिजनको सुरुवात निकै खराब गरेको बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिए पनि लालिगाको उपाधि दौडमा अझै रहेको छ। लिग लिडर एथलेटिको म्याड्रिड भन्दा ४ अंकले पछि रहेको बार्सिलोनाले अप्रिल १७ मा एथलेटिक क्लबसँग कोपा डेल रे उपाधिको लागि भिड्ने छ।

प्रकाशित : बुधबार, चैत २५, २०७७१७:४६

च्याम्पियन्स लिगमा आज: बार्यन र पीएसजी बीच महा भिडन्त, चेल्सी र पोर्टो भिड्दै !