प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई क्लबमा भित्र्याउन आतुर रहेको बताइएको छ। सिटी अर्जेन्टिनी स्ट्राइकरलाई आकर्षक अफर दिन तयार रहेको बुझिएको छ।
वर्तमान क्लब बार्सिलोनासँग मेस्सीको सम्झौता जारी सिजनको अन्त्यबाट सकिँदैछ। गत सिजन बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सीलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी तयार देखिएको थियो। तर बार्सिलोनाका तत्कालिन अध्यक्ष जोसेफ बर्टमेउले मेस्सीलाई उनको रिलिज क्लज ७०० मिलियन युरो भन्दा कम रकममा क्लब छाड्न नदिने निर्णय गरेपछि सिटी र मेस्सी दुबैको प्रयास असफल भएको थियो।
सिटीका मुख्य प्रशिक्षक पेप् ग्वार्डीओलाको अझै पनि मेस्सी माथि नजर रहे पनि मेस्सीले आआफ्नो भविष्यको बारेमा निर्णय नगरेसम्म सिटीले कुनै औपचारिक अफार भने नगर्ने बुझिएको छ। ६ पटकका ब्यालुन डी ओर विजेताले सिजनको अन्त्यसम्म आफूले कुनै निर्णय नलिने पहिले नै बताइसकेका छन्।
यस्तोमा, क्लबका खेल निर्देशकहरु मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेको खण्डमा उनलाई आकर्षक अफर दिन भने तयार रहेका छन्। सर्जियो अगुएरोले सिजनको अन्त्यबाट क्लब छाड्ने तय भएकोले ग्वार्डीओलालाई एक उत्कृष्ट स्ट्राइकर खाँचो रहेको छ। सिटीले मेस्सीलाई दुई वर्ष इंग्ल्याण्डमा र अर्को एक वर्ष एमएलएसमा, सम्भवत न्यू योर्क सिटी एफसीसँग खेल्ने गरी एक उत्कृष्ट डिल पेश गर्ने तयारी गरिरहेको छ।
तर सिटीको लागि मेस्सीलाई अनुबन्ध गर्न त्यति सजिलो भने हुने छैन। फ्रेन्च क्लब पीएसजी पनि मेस्सीले बार्सिलोना छाडेको खण्डमा उनलाई भित्र्याउने पूरा कोशिस गर्ने बुझिएको छ।