एमबाप्पे चम्किए, बायर्न आफ्नै मैदानमा पीएसजीसँग पराजित !

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ ।

पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मार्किन्हसले एक गोल थपे । बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले गोल फर्काएपनि हार टार्न सकेन । यो जितसँगै पीएसजीले गत संस्करणको फाइलमा भोगेको हारको बदला लिएको छ । पीएसजी गत संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा पीएसजीले खेलको तेस्रो मिनेटमा नै एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गरेका थिए । २८औं मिनेटमा नेयमारकै पासमा मार्किन्हसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । उनले बेन्जामिन पाभर्डको पासलाई सदुपयोग गरेका थिए ।

६०औं मिनेटमा थोमस मुलरले योसुवा किम्मिखको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा एन्जल डि मारियाको पासमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।

पीएसजीविरुद्ध बल पोसेसनमा पकड बनाएको बायर्नलाई आफ्ना स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीको अभाव खड्किएको थियो । उनी अन्तर्राष्ट्रिय विश्राम दौरान चोट बोक्दै मैदान बाहिर छन् । उनले दोस्रो लेग पनि गुमाउने सम्भावना छ ।

यस्तै जितसँगै पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा पीएसजीलाई यही नतिजा अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । १–० को हारले पनि पीएसजी सेमिफाइनलमा प्रवेश गर्नेछ । बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७०८:४९

हामीले पीएसजीलाई ६ गोल हन्देको भए कोई बोल्नै सक्दैन थिए: थोमस मुलर