एजेन्सी – थाइल्याण्डको एक सुपरमार्केटमा किनमेल गर्न गएका सर्वसाधारण र त्यहाँका कर्मचारीको केहि दिन अगाडी एकदमै डरलाग्दो दृश्यसँग साक्षात्कार भयो। उनीहरुले एक सुपरमार्केट अहिले सम्म नदेखेको दृश्य देखिरहेका थिए। उनीहरुले जे देखिरहेका थिए, त्यो उनीहरुलाई नै विश्वास लागिरहेको थिएन।
खासमा, उनीहरुले सुपरमार्केटमा विशाल छेपारो देखिरहेका थिए। करिब ६ फुट लामो छेपारो सुपरमार्केटमा देखेर त्यहाँ धेरैको होश नै उडेको थियो। बताइएअनुसार, उक्त विशाल सरीसृप नजिकैको नहरबाट सुपरमार्केटमा प्रवेश गरेको थियो। घटना नाखोन पथम, थाईल्याण्डमा रहेको सेभेन-इलेवन स्टोरको रहेको छ।
सामाजिक संजालमा उक्त घटनाको भिडियो पनि सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा एक विशाल छेपारो सुपरमार्केटमा केहि खोजिरहेको जस्तै देखिन्छ।
छेपारो सुपरमार्केटमा हुँदै भिडियो खिच्ने नरुम्पा ताङसिन हुन्। उनी भन्छन्,”म केहि खानेकुरा किन्न त्यहाँ रोकिएको थिएँ। त्यतिकैमा मैले त्यहाँ विशाल छेपारो देखें। मलाई केहि पिउन मन लागिरहेको थियो। तर, डरले आसपास जान सकिनँ।”
रिसाएको खण्डमा त्यस्ता छेपाराहरु धेरै नै खतरनाक हुने उनी बताउँछन्। छेपारो त्यहाँ हुँदा सुपरमार्केटमा रहेका कर्मचारी तथा ग्राहकहरु काउन्टर पछाडि लुकेर बसेको उनले बताए।
पछि सुपरमार्केटमा रहेका कर्मचारीहरुले छेपारो त्यहाँ आएको बारे प्रहरीमा जानकारी गराएका थिए। जसपश्चात सरीसृप उद्धारकर्ताहरुले छेपारोलाई त्यहाँबाट उद्धार गरेका थिए।
थाइल्याण्डमा यस्ता विशाल जनावर तथा सरीसृपहरु खानाको खोजिमा बजार पस्ने गरेका छन्। यस्ता छेपाराहरु थाइल्याण्डको नगरहरुमा बस्ने गर्छन्। माछा, साँप, भ्यागुता र मानिसहरूले छोडेको खानामा निर्भर उनीहरु खानाको अभाव भएपछि जमिनमा आउने गरेका छन्।