मेस्सीको कारण रियलले धेरै उपाधि जित्न सकेन: रामोस

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले यदि लियोनल मेस्सी बार्सिलोनामा नभएको भने आफ्नो क्लबले अहिलेको भन्दा अझ बढी सफलता प्राप्त गर्नेमा कुनै शंका नभएको दाबी गरेका छन्।

रामोसले लस ब्ल्यान्कोसका लागि ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् जुन मेस्सीले बार्सिलोनासँग जितेको च्याम्पियन्स लिग उपाधिको बराबर हो। तर जब लिग उपाधिको कुरा आउँछ बार्सिलोनाका कप्तान मेस्सीले रामोसको भन्दा डबल लालिगा उपाधि जितेका छन्। रामोसले रियलका लागि खेल्दै ५ पटक लालिगा च्याम्पियन बन्न सफल भएका छन् भने मेस्सीले बार्सिलोनालाई १० पटक ललिगा उपाधि जित्न मद्दत गरेका छन्।

आफ्नै डक्युमेन्ट्री सिरिज ‘द लेजेण्ड अफ सर्जियो रामोस’ मा उनले यसबारे बताएका छन्। उनले भनेका छन्,”हामीले मेस्सी विरुद्ध खेल्दा निकै संघर्ष गरेका छौं। यदि मेस्सी बार्सिलोनामा नभएको भने सायद हामी अझ धेरै उपाधि जित्न सफल हुन्थ्यौं।”

उनले मेस्सी र बारसिलोना टिमको बारेमा तारिफ गर्दै भने,”जब हामी बार्सिलोना क्लब इतिहासकै सर्वोत्कृष्ट टिम विरुद्ध खेल्ने गर्थ्यौं तब हामीसँग जोसे मौरिनो जस्ता उत्कृष्ट प्रशिक्षक थिए तर पनि बार्सिलोनालाई पराजित गर्न निकै कठिन थियो।”

रामोस अहिले चोटका कारण मैदान बाहिर रहेका छन्। उनले मंगलबार राति भएको लिभरपुल विरुद्धको च्याम्पियन्स लिग खेल पनि गुमाएका थिए। तर उनको अनुपस्थितिमा पनि रियल म्याड्रिडले पहिलो लेगमा ३-१ को जीत हात परेको छ। यता ललिगामा भने म्याड्रिड २९ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिड भन्दा ३ अंक र दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले अप्रिल १० मा आफ्नै घरेलु मैदानमा उत्कृष्ट लयमा रहेको बार्सिलोनाको सामना गर्दैछ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१५:३६

लेवान्डोस्कीको अभाव खड्कियो, सेकेन्ड लेगमा के होला ?