सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर नष्ट

सांकेतिक तस्विर

काठमाडौँ – पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए। उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

“बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्”, वडाध्यक्ष कार्कीले भने, “प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।”

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७०९:५४

आज सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट हुँदै ! कतिले पाउँछन् ?