एट्लेटिको म्याड्रिड बराबरीमा रोकियो, रियल र बार्सिलोनालाई फाइदा !

एजेन्सी – खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा रियल बेटिससँग बराबरीमा रोकिएको छ ।

बेनिटो भिल्लामारिन सेभियामा आइतबार राति भएको खेलमा एट्लेटिको रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । एट्लेटिकोका यान्निक कारास्कोले गोल गर्दा घरेलु टोलीका क्रिस्टियन टेलोले बराबरी गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा यान्निक कारास्कोको गोलबाट एट्लेटिको म्याड्रिडले अग्रता लिएको थियो । उनले एन्जल कोरेयाको पासलाई सदुपयोग गरेका थिए । तर, एट्लेटिकोको त्यो अग्रत लामो समय टिकेन । २०औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्स मोरेनोको पासमा गोल गरेका थिए ।

३७औं मिनेटमा घरेलु टोली बेटिसले अग्रता लिने मौका खेर फाल्यो । रुइवलको फ्लिक पासमा इमर्सनको प्रहारलाई कारास्कोल क्लियर गरेका थिए । ७७औं मिनेटमा क्रिस्टियन टेलोको प्रहारलाई गोलरक्षक जान ओब्लाकले सहजै नियन्त्रणमा लिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एट्लेटिकोले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा एट्लेटिको जितबाट वञ्चित बन्यो ।

यो बराबरीसँगै ला लिगाको उपाधि होड खुल्ला रहँदा एट्लेटिकोले रियल म्याड्रिडलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोको ३० खेलबाट ६७ अंक रहेको छ । समान खेलबाट रियलको ६६ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६५ अंक छ । रियल बेटिस ४७ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, चैत ३०, २०७७०७:०२

रियल विरुद्ध मेस्सीको गोल खडेरी, रोनाल्डो गएयता एक गोल पनि गर्न सकेनन् !