सुदूरपश्चिम – कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज ज्यान भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उनको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान ज्यान गएको जानकारी दिए। गएको फागुनमा उनी भारतबाट घर फर्किएको जनाइएको छ । सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ । ‘‘सङ्क्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको छ,’’ सूचना अधिकारी श्रेष्ठले भने, ‘‘फागुन १० गतेयता कोरोनाका कारण हुने मृ-त्यु दर अस्पतालमा शून्य रहेकामा आज ५० दिनपछि एक जना सङ्क्रमितको मृ-त्यु भएको हो ।’’
पछिल्ला हप्तामा भारतमा यो रोगको सङ्क्रमण र मृ-त्यु दर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ ।
महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक जना सङ्क्रमितको पनि केही दिनअघि मृ-त्यु भएको थियो । रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठले बताए । मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।