सरस्वती कर्माचार्य, काठमाडौं – छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ६ सय ९२ पुगेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
भारतको राजधानी दिल्लीमा मात्रै बितेको २४ घण्टामा कोरोनाको २४ हजार नयाँ केस थपिएसँगै दिल्लीमा अक्सिजन र रेमडेसिभिरको कमी हुन थालेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले शनिबार कोरोना संक्रमितको संख्या काबुभन्दा बाहिर पुगेकाले आईसीयू बेडसमेत अपुग भइरहेको जानकारी दिँदै तत्काल अक्सिजन, बेड र कोरोनाको औषधिका लागि केन्द्र सरकारसँग सहयोग मागेको छ ।
उता मध्यप्रदेशको हालत पनि नाजुक छ । बितेको २४ घन्टामा मध्यप्रदेशको इन्दौरमा मात्रै १ हजार ६ सय ५६ नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृ-त्यु भइसकेको छ । मध्यप्रदेशको क्राइसिस म्यानेजमेन्टले शनिबार भोपाल, इन्दौर र उज्जैन शहरमा यसअघि लगाइएको लकडाउन सकिनु २ दिनअघि नै अप्रिल २६ गतेको बिहान ६ बजेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । यी शहरमा गत अप्रिल १० मा लकडाउन लगाइएको थियो ।छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ ।
सरकारले भारतसँगको सीमा नाकाहरूमा कडाइ गर्न थालिसकेको छ । यसैबीच कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले शहरी क्षेत्रमा रहेका सबै विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । तर, सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता गरिरहेको छ ।भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका छन् । गत फेब्रुअरीदेखि नै काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ अर्थात् ‘एनओसी’ लिनेहरूको थेग्नै नसकिने भीड लागेको छ ।