बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गेटाफे विरुद्ध गरेको प्रदर्शनबाट सजिलै देख्न सकिन्छ कि २०२१ मा ३३ वर्षीय अर्जेन्टिनी खेलाडी भन्दा उत्कृष्ट लयमा अरु कुनै पनि खेलाडी छैनन्। उनलाई २०२१ का अहिलेसम्मको बेस्ट प्लेयर भन्दा पनि सायद गल्ती नहोला।

गयराती भएको लालिगा खेलमा मेस्सीले १०/१० प्रदर्शन दिए। बार्सिलोना ५-२ गोलले विजयी भएको खेलमा मेस्सीले २ गोल गर्नुका साथै १ असिस्ट पनि प्रदान गरे। थप रूपमा खेलको तेस्रो मिनेटमा नै उनको सटिक प्रहार विपक्षीको गोल पोस्टमा ठोक्किएर फर्किएको थियो। तर खेलको आठौँ मिनेटमा सर्जियो बुस्केटको उत्कृष्ट पासमा मेस्सीले बार्सिलोनालाई अग्रता दिलाए।

६ पटकका ब्यालुन डी ओर विजेताले ३३ मिनेटमा दोस्रो गोल गरेका थिए। त्यस्तै, ८७ मिनेटमा मेस्सीको कर्नर किकमा रोनाल्ड आराउजोले गोल गरेका थिए। एन्टोइन ग्रिज्मनले बार्सिलोनाका लागि एक गोल गरेका थिए भने एक गोल गेटाफेका खेलाडीले आत्मघाती गोल गरेका थिए। गेटाफेका लागि एनेस उनाइले एक गोल गरे भने बार्सिलोनाका लेन्गलेटले पनि आत्मघाती गोल गरेका थिए।

गयारती गरेको २ गोलका साथ मेस्सीले २०२१ मा २३ गोल गरिसकेका छन्। यो उनको ललिगामा २५ औं गोल पनि थियो। यस्तोमा, गेटाफे विरुद्ध मेस्सीको प्रदर्शन देखेपछि फुटबल फ्यान्सहरु मेस्सीलाई ३३ वर्षको उमेरमा पनि विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन्। उनको यस खेलको प्रदर्शनको हाइलाइट भिडियो पनि अहिले चर्चामा आएको छ।
https://youtu.be/RsKbP96E_ak
यस जीतसँगै बार्सिलोना लालिगा टेबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ। लिग लिडर एथलेटिको म्याड्रिड भन्दा ५ अंक कम रहेको बार्सिलोनाले एक खेल कम खेलेको छ। ३१ खेलबाट ६८ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा दुई अंक पछि रहेको छ। ३२ खेलबाट रियलको ७० अंक रहेको छ भने ३२ खेलबाट नै एथलेटिकोको ७३ अंक रहेको छ।

