काठमाडौँ – यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ सूचिकृत हुने भएकाे छ । सिंगटी हाइड्राे इनर्जी कम्पनीले सेयर सूचिकरणका लागि सिडिएससीमा निवेदन दिइसकेकाे छ। र आज नै सेयर रजिष्ट्रार मेगा क्यापिटलले नेप्सेमा निवेदन पेश गर्ने तयारी गरिरहेकाे छ।
कम्पनीले सेयर सूचिकरणका लागि सिडिएससीमा निवेदन दिइसकेकाे बताउँदै सेयर रजिष्ट्रार मेगा क्यापिटलले पनि आज नै नेप्सेमा निवेदन पेश गर्ने तयारी गरिरहेकाे सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडका सुदिप खड्काले जानकारी दिएका छन् ।
कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको थियो । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सविर वादे श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० आवेदक हात खाली भएका छन् ।
कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । जसमध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशतअर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण गरिएको छ ।