युरोपतर्फ हिँडेका १३० जना आप्रवासी बेपत्ता, डुबेको आशंका !

कायरो – युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन् । आजभोलि मौसम केही न्यानो भएकाले आप्रवासीहरु भूमध्यसागर पार गरेर अवैध रुपमा युरोपतर्फ प्रस्थान गर्ने गर्दछन् ।

मानवीय सहायता संस्थाहरुले आप्रवासीको जीवन रक्षा गर्न लिबियाली तटीय रक्षक र युरोपेली अधिकारीहरु अक्षम रहेको आरोप लगाएका छन् । एक जना लिबियाली तट रक्षक अधिकारीले आफूहरुले डुङ्गाको खोजी गरेको तर सीमित स्रोतसाधनका कारण सम्भव नभएको प्रतिक्रिया दिनु भएको छ ।

ओसन भाइकिङ नामको उद्धार जहाज चलाउने एसओएस मेडिटेरिनीले बिहीबार करिब १३० जना सवार डुबेको रबर डुङ्गा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखा परेको जनाएको छ । उद्धारकर्ताहरुले दुर्घटना भएको ठाउँमा १० जनाको श-व बाहेक अरु कसैलाई पनि भेट्टाउन सकेका थिएनन् ।

समुद्रमा जोखिमपूर्ण यात्रा गर्ने आप्रवासीलाई जोगाउन युरोपेली युनियनका मुलुकहरु र लिबियामध्ये को बढी जिम्मेवार हुनुपर्ला भन्ने यस घटनाले प्रश्न उब्जाएको छ ।

एसएसओएसका अनुसार यसै वर्ष ३५० जना भूमध्यसागरमा डुबिसकेका छन् । उक्त संस्थाले समुद्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारहरु असफल रहेको आरोप लगाएको छ ।

सन् २०११ देखि नेटो समर्थित आन्दोलनबाट लिबियाली नेता मोउमर गद्दाफीको मृ-त्यु भएपछि लिबियाको जलक्षेत्रबाट ठूलो संख्यामा द्व-न्द्वग्रस्त अफ्रिकी र मध्यपूर्वका मुलुकका आप्रवासीहरु युरोप प्रवेश गर्न थालेका छन् । मानव तस्करहरुले कमजोर डुङ्गामा चढाएर आप्रवासीलाई भूमध्यसागर पार गराउने जिम्मा लिने गरेका छन् । त्यसक्रममा डुङ्गाहरु बीचमै डुब्ने गरेपछि बर्सेनि सयौंको मृ-त्यु हुने गरेको छ ।

अन्तर्राष्ट्रिय अप्रवासन संगठनले पनि यसै वर्ष सन् २०२१ को शुरुदेखि हालसम्म ३०० भन्दा बढी व्यक्ति भूमध्यसागरमा डुबेको जनाएको छ । हालैका वर्षहरुमा युरोपेली युनियनले लिबियाको तटीय रक्षक र अन्य स्थानीय समूहहरुलाई भूमध्यसागरको कठिन मार्गबाट युरोपतर्फ प्रस्थान गर्न नदिन मद्दत गरिरहेको छ ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१४:२८

कोरोना संक्रमण पछि निमोनिया भयो, उपचार गर्दा-गर्दै गयो ज्यान !