लकडाउनको हल्लासँगै शेयर बजारमा पहिरो !

काठमाडौँ – कोरोना भाइरस संक्रमण बढिरहेका बेला शेयर बजारमा पहिरो गएको छ। कोरोना संक्रमणको दोस्रो लहरलाई रोक्न सरकारले लकडाउन गर्न लागेको हल्ला चलेपछि शेयर बजारमा पहिरो गएको हो।

आज हप्ताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.७९ अंकले घटेर २६४८.०१ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि १२.५६ अंकले घटेर ४६४.०५ विन्दुमा झरेको छ।

परिसूचक घटेको दिन आज कारोबार भने बढेको छ। आज २१५ वटा कम्पनीका एक करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर एक लाख चार हजार ४० पटक खरिद-बिक्री भएको छ। आज शेयर बजारमा सात अर्ब २८ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भयो।

आज सबै भन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरको कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३९ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सात लाख २३ हजार ६५७ कित्ता शेयर किनबेच भए। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य २१ रुपैंयाँले घटेसँगै ५ सय ४१ रुपैंयाँ कायम भएको छ।

सबै भन्दा बढी कुन कम्पनीको शेयर बढ्यो ?

आज सबै भन्दा बढी महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको शेयर मूल्य बढेको छ। आज महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत र विशाल बजार कम्पनीको ९ दशमलव ९७ प्रतिशत मूल्य बढेको हो।

महिला लघुवित्तको प्रतिकित्ता रू. १९४ ले बढेर अन्तिम मूल्य रू. २ हजार १३६ र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ३१६ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ४८४ कायम भएको छ।

कसले गुमाए ?

आज चन्द्रागिरी हिल्स लिमिटेड र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबै भन्दा बढी घटेको छ। चन्द्रागिरी हिल्सको ८ दशमलव ४३ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १ हजार ९५५ र नारायणी डेभलपमेण्ट बैंकको ८ दशमलव १९ प्रतिशत घटेर अन्तिम मूल्य रू. ५२७ कायम भएको छ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१६:१८

लगातार बढेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पहिलो पटक घट्यो ! कति ?