एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले हार बेहोरेको छ । एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएको हो ।
एट्लेटिकोको हारसँगै ला लिगाको उपाधि होड थप रोमाञ्चक र खुल्ला बनेको छ । यस सिजनको ला लिगाको उपाधि दौडमा एट्लेटिकोसँगै रियल म्याड्रिड, बार्सिलोना र सेभिया देखिएका छन् । यि चार टोलीबीच मात्रै ३ अंकको अन्तर छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।
हारपछि एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७१ अंक छ । समान ७१ अंक भएपनि एक खेल कम खेलेको बार्सिलोना हेड टु हेडमा तेस्रो स्थानमा रहँदा सेभिया ७० अंक जोडेर शीर्ष चारमा रहँदै उपाधि होडलाई जीवितै राखेका छन् । एट्लेटिकोलाई हराएको बिल्वाओ ३२ खेलबाट ४१ अंक जोडेर १०औं स्थानमा छ ।
सान मामेस बार्रिया बिल्वाओमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेक्स बेरेनगुएर र इनिगो मार्टिनेजले गोल गरे । एट्लेटिकोका स्टेफन साभिकले एक गोल फर्काए । खेलको आठौं मिनेटमा नै एलेक्स बेरेनगुएरको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । उनले एन्डर कापाको क्रस डिफ्लेक्ट भएर आएपछिको अवस्थामा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ७७औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो । स्टेफन साभिकले यान्निक कारास्कोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, शीर्षस्थानको एट्लेटिकोको त्यो बराबरी लामो समय टिकेन । ८६औं मिनेटमा इनिगो मार्टिनेजले इवाई गोमेजको पासमा गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाउँदा एट्लेटिकोलाई उपाधि होडमा नमिठो झट्का दिलाए ।
यो हारसँगै एट्लेटिकोले शीर्षस्थानमा ५ अंकको अग्रता लिने अवसर गुमाएको छ । बार्सिलोनाले भिल्लारियललाई २–१ ले हराउँदा बार्सिलोना रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि उपाधि होड थप खुल्ला बनेको हो ।
ला लिगाकै अर्काे खेलमा सेभियाले ग्रानडालाई २–१ ले पराजित गर्दै शीर्ष चारको स्थानलाई थप मजवुत बनाउँदा उपाधि होडमा पनि उभिएको छ । सेभियाको ३३ खेलबाट ७० अंक पुगेको छ । ३२ खेलबाट ग्रानडा ४२ अंक जोडेर आठौं स्थानमा रहेको छ । सेभियाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । ग्रानडाका रोबर्टाे सोल्डाडोले एक गोल फर्काए ।

