आज पनि नेप्से परिसूचक राताम्य, दुई दिनमा १४१ अंकको गिरावट !

काठमाडौँ । कोरोना संक्रमण लगातार बढ्दै गर्दा निषेधाज्ञाको हल्लाले सेयर बजारमा पनि असर पारेको छ। हप्ताको पहिलो दिन हिजो ७५.७९ अंकले घटेर २६४८.०१ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि भारी मात्रामा गिरावट आएको छ।

सोमबार नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सिटिभ सूचक पनि आज ११.२५ अंकले घटेर ४४२.८ विन्दुमा झरेको छ।

नेप्से घटेको दिन आज कारोबार पनि घटेको छ। सोमबार २ सय २० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। यस दिन कुल ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज सबैभन्दा बढी अपर तामाकोशी सेयर किनबेच भएको छ। उक्त कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ। दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहँदा तेस्रोमा पुनर्बिमा कम्पनी रहेको छ।

सबै समूहका परिसूचकहरु राताम्य भएको दिन सबैभन्दा बढी जलविद्युत र व्यापार समूहका लगानीकर्ताले गुमाएका छन्। यस दिन सबैभन्दा बढी रिलायन्स फाइनान्स, छ्याङदी हाइड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाए।

नेप्सेमा पहिरो आएको दिन पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको भाउमा भने सकारात्मक सर्किट लागेको छ। विशाल बजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा महिला लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य ९.९७ प्रतिशतको वृद्धि आएको छ।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१६:४२

फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!