सीईडीबीको आईपीओमा मागभन्दा २.७८ गुणा बढी आवेदन, छिट्टै बिक्रि बन्द हुने!

वैशाख १७, काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा २ दशमलव ७८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साझ ५ बजेसम्म ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९२१ कित्ता शेयर खरीदको लागि आवेदन परेको हो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि वैशाख २१ गतेसम्म मात्र विक्रीमा रहनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो ।यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । कोभिड १९ जोखिमलाई ध्यान दिंदै मेरो शेयर मार्फत नै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ ।

२०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करीब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते अनुमति पाएको हो । हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ ।

कम्पनीद्वारा प्रबर्द्धित सांगे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र कुमगाडा जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् ।

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ ।

आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले रू. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८०९:३३

लगातार बढ्दै सुनको मूल्य, हप्ताको तेस्रो दिन पनि बढ्यो !