आज सभामुख र सांसदसहित सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण गरिने !

काठमाडौं । संघीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधवार र बिहीवार कोभिड–१९ को पीसीआर परीक्षण गराउने भएको छ ।

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने सचिवालयले सूचनामार्फत जानकारी दिएको छ ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पहिलो दिन परीक्षण हुने छ ।

अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्र्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण बिहीवार हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न चाहनु भएको जनाउँदै यही वैशाख २७ गते सोमवार प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा(१) बमोजिम प्रधानमन्त्रीले आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न चाहनुभएकाले आगामी सोमवार दिउँसो १ नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन आह्वान भएको हो ।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नसक्ने सवैधानिक प्रवधान छ ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८०८:३२

प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण!