घाइते भइरहने हाजार्ड देखि दिक्क भए जिदान, बनाए यस्तो योजना !

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले बेल्जियन फरवार्ड इडेन हाजार्डलाई बेच्ने योजना बनाएको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार रियलले आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न लागेको खेलाडीहरुको सूचीमा हाजार्डलाई पनि राखेको हो।

क्लबका प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड सहितका विभिन्न खेलाडीहरुलाई बिक्री गरेर टिममा थप परिवर्तन गर्न चाहेका छन्। हाजार्ड माथि लाग्ने बोलि सुन्ने र सन्तुष्ट हुन सकिने रकम पाएमा उनलाई बेच्ने रियलको योजना रहेको छ।

चेल्सीबाट रियल पुगेका हाजार्डको अधिकांश समय चोटिल भएरै बितेको छ। हाजार्ड सन् २०१९ मा चेल्सीबाट रियल पुगेका थिए। त्यसयता उनी कयौंपटक घाइते भैसकेका छन्। च्याम्पियन्स लिगमा चेल्सी विरुद्ध खेल्नु अगाडी पनि उनी घाइते अवस्थामै थिए। हाजार्डले चेल्सी विरुद्ध लामो समय पछि पूनरागमन गरेका हुन्।

चेल्सी विरुद्ध हाजार्डको प्रदर्शन

पूर्व क्लब चेल्सी विरुद्ध हाजार्डले खासै प्रभावशालि प्रदर्शन गर्न सकेनन्। हुन त पटक-पटक घाइते हुने गरेका हाजार्ड पहिले जस्ता छैनन्। च्याम्पियन्स लिग अन्तर्गतको खेलमा चेल्सी विरुद्ध पनि हाजार्ड त्यस्तै देखिए। उनले आफ्नो पूर्व क्लब चेल्सी विरुद्ध प्रभाव जमाउन सकेनन्। चेल्सी विरुद्धको उनको खेल सम्झन लायक रहेन।

मागे माफी

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीसँग २–० ले पराजित हुदै बाहिरिएपछि आफूले देखाएको व्यवहारलाई लिएर हाजार्डले माफी मागेका छन्।

रियल पराजित भएपश्चात हाजार्ड चेल्सीका खेलाडीहरुसँग ठट्टा गर्दे हाँसेको तस्विर तथा भिडियो सार्वजनिक भएका थिए। जस पश्चात हाजार्डको चर्को आलोचना भएको थियो।

चर्को आलोचना पश्चात हाजार्डले इन्स्टाग्राममा एक स्टोरी राख्दै आफूले रियलका समर्थकलाई दुःखी बनाउन यस्तो काम गरेको नभई अन्जानमा गरेको बताएका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१७:४४

बार्सिलोना भर्सेस एट्लेटिको : उपाधि होडमा निर्णायक हुन सक्ने खेलमा कसले मार्ला बाजी ?