एजेन्सी – युरोपियन गोल्डेन बुट जर्मन च्याम्पियन बायर्न म्युनिखका स्टार फुटबलर रोबर्ट लेवाण्डोस्कीले जित्ने सम्भावना प्रवल बनेको छ। शनिबार राति सम्पन्न खेलमा मोन्चेनग्लाडवाक विरुद्ध ह्याट्रिक गरेसँगै युरोपियन गोल्डेन बुट लेवाण्डोस्कीले जित्ने सम्भावना बढेको हो।
शनिबार घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे। लेवान्डोस्कीले खेल शुरु भएको दोस्रो मिनेटमा नै पहिलो गोल गरेका थिए भने उनले ३४औं मिनेटमा व्यक्तिगत गोलसंख्या दोब्बर पारेका थिए।
त्यस्तै उनले ६६औं मिनेटमा पाएको पेनाल्टीको मौकालाई खेर जान दिएनन्, गोल गरे। शनिबार राति ३ गोल गरेसँगै बुन्डेसलिगाको जारी सिजनमा लेवान्डोस्कीको ३९ गोल पुगेको छ। यससँगै उनले बुन्डेसलिगा गोल्डेन बुट सँग-सँगै युरोपियन गोल्डेन बुट जित्ने भएका छन्।
पछि परे रोनाल्डो र मेस्सी
युरोपियन गोल्डेन बुट दौडमा बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डो पछि परेका छन्। युरोपियन गोल्डेन बुट दौड ३९ गोल सहित लेवाण्डोस्कीको ७८ अंक छ भने मेस्सी र रोनाल्डोको क्रमश २८ गोल(५६ अंक) र २७ गोल(५४ अंक) सहित दोस्रो र तेस्रो स्थानमा छन्।
युरोपियन गोल्डेन बुटमा कसले मार्ला बाजी ?
गत वर्ष लेवाण्डोस्की युरोपियन गोल्डेन बुट जित्न असफल भएका थिए। बुन्डेसलिगामा मात्रै ३४ खेल हुने गरेका कारण उनले युरोपियन गोल्डेन बुट गुमाउनुपरेको थियो। लेवाण्डोस्कीलाई पछि पार्दै सिरो इम्मोबाइलले गोल्डेन बुट जितेका थिए।
जारी सिजनमा बायर्नले बुन्डेसलिगामा २ खेल खेल्न बाँकी छ। बाँकी रहेको खेलमा केहि गोल मात्र गरेपनि लेवाण्डोस्कीले युरोपियन गोल्डेन बुट जित्न जित्नेछन्। उता बार्सिलोनाले लालिगामा ३ खेल र युभेन्टसले सिरी ‘ए’मा ४ खेल खेल्न बाँकी छ। लेवाण्डोस्कीलाई भेट्टाउनको लागि मात्र मेस्सी र रोनाल्डोले ११ र १२ र गोल गर्नुपर्ने हुन्छ, जुन खासै सम्भव देखिँदैन।