काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ ।
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ । खेल सुरु भएपछि उक्त प्रसारणको लिंक हाम्रो खेलकुद डटकम मार्फत पनि प्राप्त गर्न सक्नुहुनेछ ।
सम्भावित टोलीको समिकरण
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गर्नेछन् । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडीले नै निरन्तरता दिने पक्का जस्तै देखिन्छ । विंगब्याकमा दिनेश राजवंशी र सुमन अर्याल खेल्ने प्रबल सम्भावना छ । यसबाहेक विकास खवास र गौतम श्रेष्ठ पनि विकल्पमा छन् ।
मिडफिल्डमा भने यसपटक नयाँ स्वरूप देखिने आँकलन गरिएको छ । रक्षात्मक भूमिकामा पुजन उपरकोटी र सुरज जिउ ठकुरीमा एक जनाले खेल्ने सम्भावना छ । अनुभवी विशाल राईसँगै एरिक विष्ट, सन्तोष तामाङ र कमल थापा पनि सेन्टर मिडफिल्ड भूमिकाका लागि प्रतिस्पर्धामा छन् । आयुष घलानको रुपमा प्राविधिक पाटो सुदृढ पार्ने प्रशिक्षकको रणनीति पनि हुन सक्छ । सुरुवाती रोजाइमा पुजन, सन्तोष र विशाल खेल्ने बलियो सम्भावना छ ।
आक्रमणमा विंगरका रुपमा अन्जन विष्ट र मनिष डाँगी विंगमा खेल्ने सम्भावना छ । फरवार्डका रुपमा नवयुग श्रेष्ठको दावेदारी रहनेछ । आशिष लामा र अभिषेक रिजाल पनि आफूलाई सिद्ध पार्न अवसरको पर्खाइमा छन् । सुमन लामा र सुनिल बल वैकल्पिकका रुपमा खेलमा आफ्नो प्रभाव जमाउन प्रयासरत हुनेछन् ।

