बार्सिलोना आउन पाउँदा खुशीले गदगद अगुएरो, मेस्सी बारे पनि बोले ! के भने ?

एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् ।
३२ वर्षीय अगुएरो फ्रि ट्रान्सफरमा दुई वर्षका लागि बार्सिलोना पुगेका हुन्।

बार्सिलोना पुगेपछि अगुएरोले आफ्नो ठूलो सपना पूरा भएको प्रतिक्रिया दिएका छन्। बार्सिलोना पुगेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले युवा अवस्था देखि देखेको सपना अहिले आएर पूरा भएको बताएका हुन्। अगुएरोले १४ वर्षको उमेरमा देखेको सपना अहिले पूरा भएको भन्दै खिशी व्यक्त गरे ।

“म धेरै खुसी छु, म क्लबको लागि सक्दो कोशिश गर्नेछु, टोलीलाई महत्वपूर्ण उपलब्धि दिलाउन सहयोग पुर्‍याउनेछु।”,पत्रकार सम्मेलनमा अगुएरोले भने,”जब बार्सिलोनाले मेरो एजेन्टलाई सम्पर्क गर्यो, म अत्यन्तै खुशी भएँ। यो मेरो १४ वर्ष उमेर देखिको सपना थियो।”

बार्सिलोनाले चासो देखाएपनि अन्य कुनै पनि क्लबसँग आफूले संवाद अगाडी नबढाएको अगुएरोले जानकारी गराए। अगुएरोले आफ्ना लागि बार्सिलोना सधैं विश्वको उत्कृष्ट क्लब भएको बताए। उनले भने,”मेरो लागि बार्सा सँधै विश्वको सर्वश्रेष्ठ टीम रह्यो र मेस्सी पनि यहाँ छन्।”

मेस्सी बार्सिलोनामै रहने विश्वास

अगुएरोले लियोनेल मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त पनि गरेका छन्। मेस्सी बार्सिलोनामै रहे त्यो आफ्नो लागि गर्वको कुरा हुने उनले बताए। मेस्सीलाई लामो समय देखि चिनेका आधारमा उनी क्लबमकै बस्छन् भन्ने लागेको अगुएरोको भनाई छ।

उनले भने,”मेस्सीसँगै खेल्ने आशा गरिरहेको छु। मलाई लाग्छ मेस्सीको पनि त्यस्तै चाहना छ। मेस्सी सँगै खेल्न पाए त्यो आनन्द र गर्वको कुरा हुनेछ।”

बार्सिलोनामा अनुबन्धित भएपछि मेस्सी र आफू बीच म्यासेजमा कुराकानी भएको पनि अगुएरोले बताए। त्यसक्रममा मेस्सीले बधाई दिएको अगुएरोको भनाई छ। अगुएरोका अनुसार मेस्सीसँग उनको नियमित जस्तै कुराकानी हुन्छ।

दोस्रो इनिंगको शुरुवात

बार्सिलोनासँग सम्झौता गरेसँगै लालिगामा अगुएरोको दोस्रो यात्रा शुरु भएको छ। यस अगाडी उनले लालिगामा एट्लेटिको म्याड्रिडका लागि खेलेका थिए। सन् २०११ मा उनले एट्लेटिको म्याड्रिड छाडेर म्यानचेस्टर सिटी पुगेका थिए।

पारिश्रमिक कटौती

अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिँदै आएका थिए। बार्सिलोनामा भने उनले त्यस भन्दा कम पारिश्रमिक पाउनेछन्। पारिश्रमिक कटौती गर्न सहमत भएपछि नै उनको बार्सिलोना ट्रान्सफर सम्भव भएको हो। बार्सिलोनामा भएको नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउने अनुमान गरिएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७८०६:२९

लगातार घट्दै कोरोना संक्रमण