“थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति”

काठमाडौँ – विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ। पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ४ः२५ बजे निधन भएको हो। पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको पनि वक्तव्य उल्लेख छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेको थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, ‘खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दवाव दिने विधि स्थापित गर्न उनको अहम् भूमिका छ।’

संस्थापक थापाले अंगालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाएको छ। पार्टीले पीडाका क्षणमा परिवारजनमा समवेदना व्यक्त गर्दै उपचारका क्रममा स्वास्थ्यलाभ कामना गरी स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि सबैमा आभार व्यक्त गरेको छ।

शोक वक्तव्य

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।

थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ।

यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ।

रवीन्द्र मिश्र, अध्यक्ष
मिलन पाण्डे, संयोजक
विवेकशील साझा पार्टी
मिति: १८ जेठ २०७८

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७८१९:१७

एमाले एकताका लागि ओलीले चालेको कदमले उत्साहित योगेश, ओलीको गरे प्रशंसा !