चिलीविरुद्ध मेस्सीको पेनाल्टी गोल, थप गोल फर्काउन नसक्दा अर्जेन्टिना बराबरीमै रोकियो !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

अर्जेन्टिनामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीका लागि कप्तान लियोनेल मेस्सीले गोल गर्दा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा लोउटारो मार्टिनेजलाई गुइलेर्माे मारिपानले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मेस्सी चुकेनन् । तर अर्जेन्टिनाको त्यो अग्रता लामो समय टिकेन ।

३६औं मिनेटमा साञ्चेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एरानगुइजको लामो फ्रिकिकमा गारी मेडेलले उपलब्ध गराएको पासमा अनमार्क रहेका उनले सहजै गोल गरेको थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोलको प्रयास भएपनि सफल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीपछि अर्जेन्टिना ५ खेलबाट ११ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको ब्राजिलको ४ खेलबाट १२ अंक छ । चिली ५ खेलबाट ५ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

यस्तै विश्वकप छनोटकै खेलमा बोलिभियाले भेनेजुएलालाई ३–१ ले पराजित गरेको छ । बोलिभियाको जितमा मार्सेलो मोरेनाले दुई तथा डिएगो इवानेजले एक गोल गरे । भेनेजुएलाका जोन चान्सेलरले एक गोल फर्काए ।

छनोटमा पहिलो जित निकालेको बोलिभिया ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा उक्लदा पराजित भेनेजुएला ३ अंकसहित नवौं स्थानमा छ ।

यस्तै उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै पाराग्वे ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा रहँदा समान ७ अंक नै रहेपनि उरुग्वे गोल अन्तरमा पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८०८:३८

आज स्पेन र पोर्चुगल भिड्दै, खेल कुन च्यानलमा कति बेला हेर्ने ?