चेल्सीलाई च्याम्पियन्स लिग दिलाएका टुचेलको चेल्सी बसाईं लम्बियो !

एजेन्सी – जर्मन प्रशिक्षक थोमस टुचेलले इंग्लिस क्लब चेल्सीसँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् । जनवरीमा चेल्सी आएर कठिन स्थितिमा क्लबलाई सम्हाल्दै च्याम्पियन्स लिग जिताएपछि उनको सम्झौता नविकरण भएको बुझिएको छ ।

नयाँ सम्झौता अनुसार टुचेल २०२४ सम्म चेल्सीको डगआउटमा रहनेछन् । टुचेल जनवरीमा १८ महिनाको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लन्डन क्लब आएका थिए । टुचेलको प्रशिक्षणमा चेल्सीले च्याम्पियन्स लिग जित्नुका साथै एफए कपको फाइनलमा पुग्न सफल भएको थियो ।

जनवरीसम्म नवौं स्थानमा रहेको चेल्सी अन्तिमसम्म आइपुग्दा शीर्ष चारमा अटाउन सफल भएको थियो । चेल्सीको आधिकारिक वेबसाइटमा प्रशिक्षक टुचेलले सम्झौता नविकरण भएपछि कल्पना गर्न कठिन भएको र चेल्सी परिवारको अंश बन्न पाउँदा खुशी लागेको बताएका छन् । ‘त्यहाँ अझ धेरै आउन बाँकी छ । हामी धेरै महत्त्वाकांक्षी छौ । हामी अर्काे चरणको सफलताको प्रतीक्षा गर्दैछौं ।’

यदि ४७ वर्षीय टुचेलले स्टामफोर्ड ब्रिजमा आफ्नो नयाँ सम्झौता अवधि पुरा गरे भने उनी क्लबका मालिक अब्रामोभिचको नेतृत्वमा सबैभन्दा लामो समय प्रशिक्षण दिने प्रशिक्षक बन्नेछन् ।

रसियन ब्यापारी अब्रामोभिचले सन् २००३ यता १३ प्रशिक्षकलाई बर्खास्त गरिसकेका छन् । जसमा चेल्सीलाई च्याम्पियन्स लिग जिताएका रोबर्टाे डि माटियो (६) महिनासमेत रहेका छन् । पोर्चुगिज जोसे मौरिन्हो सबैभन्दा लामो समय २००४ देखि २००७ सम्म चेल्सीको प्रशिक्षक बनेका थिए ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८२२:५६

विश्वकप छनोट: नेयमार चम्किए, ब्राजिलको जित !